पत्रकार महासंघको सात जिल्लामा नयाँ कार्यसमिति चयन

काठमाडौं, फागुन ४ – नेपाल पत्रकार महासंघको पश्चिमाञ्चल सात जिल्लामा नयाँ कार्यसमिति चयन भएको छ । बागलुङमा उज्यालो सहकर्मी दिल शिरिसको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
यस्तै गुल्मीमा नवराज भुसाल, म्याग्दीमा तारानाथ शर्मा, पर्वतमा छविलाल तिवारी र गोरखामा किशोरजंग थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लमजुङमा आश गुरुङ र रुपन्देहीमा यानेन्द्र जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
पाल्पा र अर्घाखाँचीमा नयाँ कार्यसमिति चयनको प्रक्रिया चलिरहेको छ । कास्की, स्याङ्जा, तनहुँ र कपिलवस्तुमा प्राविधिक कारणले तथा मनाङ र मुस्ताङमा मौसमका कारणले अधिवेशन स्थगित भएको महासंघका महासचिव उजिर मगरले जानकारी दिनुभयो । आउँदो शनिवार पूर्वाञ्जलमा जिल्ला शाखाको अधिवेशन गर्ने पत्रकार महासंघको तयारी छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news