काठमाडोंमा प्रकाशित वैशाख ३० गतेका पत्रपत्रिकाका खबरहरु
- छतैछत हाम्फाल्दै छिमेकीको घरमा
भक्तपुर, वंशगोपालका ४५ वर्षीय कृष्णप्रसाद सोनेप पाँचतले कच्ची छतमा थिए । वैशाख १२ गते आएको भूकम्पले उनको छत केही भत्किएको र जस्ताको छाना चुहिने भएको थियो ।
चुहिएको छाना छिटो मर्मत नगरे तत्कालै छानासहित घर भत्कने डर थियो भने छानाको ढुंगा खसेर तल लाग्ने खतरा थियो । छिमेकीहरुले पनि छाना तुरुन्त मर्मत गर्न सुझाएपछि सानेप आफ्ना छोरा गोविन्द र अन्य पाँच जनासहित छत मर्मत गर्न छानामा पुगेको नागरिकमा खबर छ ।
चुहिएको छाना टाल्ने र मर्मत गर्ने क्रममा एक्कासि घरवरपरका चरा उड्न थाले । लगत्तै छाना हल्लियो । सोनेपसहित छानामा रहेका सबैले चाल पाइहाले भूकम्पको धक्का फेरि आयो । त्यसपछि सोनेपसहित सबै उक्त घरसँगै लहरै रहेका अन्य चारवटा घरका छतछतमा दौडँदै पाँचौ लहरमा रहेको पक्की घरमा फड्को मारे । पक्की घरमा सबैजना पुग्नेवित्तिकै जोडले झ्यालको सिसा फुटाएर भित्र छिरे ।
सोनेपसहित छतमा रहेका सातै जना पक्की घरमा पुग्नेवित्तिकै उनीहरुले अघि मर्मत गरिरहेको घर र छतमा दौडँदै आएका घर गल्र्यामगुलर्म लडिहाल्यो । भागेर पक्की घरमा फड्को मार्दा र सिसा फुटाउने क्रममा उनीहरु सबै जना सामान्य घाइते भएका छन् । सोनेपको हातमा चोट लागेको छ । उनको छोरासहित अन्य सहयोगीको पनि हात तथा खुट्टामा सामान्य चोट लागेको छ । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
- नुवाकोट दरबार क्षेत्रका सामग्री झिक्न सुरु
पुरातत्व विभागले ध्वस्त भएको ऐतिहासिक सात तले दरबार क्षेत्रको भग्नावशेषबाट महत्वपूर्ण सामग्री निकाल्न सुरु गरेको छ ।
साततले दरबारमा आंशिक क्षति देखिए पनि भूकम्पले जीर्ण बनाएको छ । दरबार क्षेत्रमा रहेका तलेजु मन्दिर, गारद घर, रंगमहल, भैरवी मन्दिर, विष्णु मन्दिर, नारायण मन्दिर, धामीको निवास लगायतका पुरातात्विक महत्वका संरचना भने ध्वस्त भएको नयाँ पत्रिकामा खबर छ ।
आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका संरचनाको पुनर्निर्माणका लागि वर्षौ लाग्न सक्ने भएकाले पुरातात्विक सामग्री निकाल्न थालेको पुरातत्व विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले बताए ।
पुरातत्व विभागले महत्वपूर्ण सामग्री निकाल्ने र धराप संरचनाहरु भत्काउने लामाको भनाइ छ । विभागले भूकम्पले क्षति पुर्याएको ऐतिहासिक र पुरातात्विक हिसावले महत्वपूर्ण क्षेत्रमा टोली खटाएको छ । सोहीअनुसार नुवाकोटमा अनुसन्धान अधिकृत लामाको नेतृत्वमा टोली आएको हो ।
भूकम्पले भत्केको संरचना तत्काल पुनर्निर्माण तथा मर्मत हुने सम्भावना नभएकाले पहिलो चरणमा नबिग्रेका सामग्री झिक्न थालेको अनुसन्धान अधिकृत लामाले बताए । एउटै टुँडाल बनाउन अहिले एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म खर्च लाग्ने उनको भनाइ छ ।
- निर्माणाधीन आयोजनाहरु ठप्प हुने सम्भावना
निर्माणाधीन विकास आयोजनामा कामदारको अभाव हुने स्थिति देखिएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पपछि कामदारहरु आ-आफ्ना घर फर्केकाले यस्तो स्थिति देखिएको निर्माण ब्यवसायीहरुले बताएका छन् ।
नेपाल निर्माण ब्यवसायी महासंघका अनुसार यस क्षेत्रमा स्वदेशी र विदेशी दक्ष, अर्धदक्ष र अदक्ष गरी १० लाख जनशक्ति कार्यरत छन् ।
भूकम्पपछि निर्माण क्षेत्रमा २० प्रतिशत जनशक्ति मात्र कार्यरत रहेको महासंघका महासचिव रामशरण देउजाले जानकारी दिए । उनका अनुसार ८ लाख जनशक्ति अहिले छैनन् ।
विशेषगरी निर्माण कार्यसँग सम्बन्ध अधिकांश ड्राइभर, अपरेटर, यन्त्र उपकरण सञ्चालक भूकम्प प्रभावित क्षेत्रका रहेको अभियान दैनिकमा खबर छ ।
निर्माण क्षेत्रका कुल जनसंख्यामध्ये ७ लाख नेपाली र ३ लाख विदेशी छन् । विदेशीमध्ये २ लाख ४० हजार भारतीय र बाँकी ६० हजार बंगलादेश, चीन, भूटान र श्रीलंका रहेको महासचिव देउजाले बताए । विदेशी कामदारहरु विशेषगरी सडक कालोपत्रे, जलविद्युत आयोजना, पुल निर्माण, सुरुङ निर्माण लगायत काममा संलग्न छन् ।
महासंघले निर्माण कार्य गर्न यन्त्र उपकरणको प्रयोगलाई सरकारी तहबाटै प्रोत्साहन दिनुपर्नेमा पनि जोड दिएको छ ।
- महाभूकम्पले हल्लायो अर्थतन्त्रको जग, दुई वर्षको बजेट बराबरको क्षति
वैशाख १२ गते महाभूकम्पले हल्लाएको अर्थतन्त्रलाई मंगलबार आएको अर्को धक्काले तहसनहस बनाएको छ । मंगलबार फेरि आएको शक्तिशाली भूकम्पका कारण करिब दुई वर्षको बजेट बराबरको क्षति भएको अनुमान गरिएको छ ।
१२ गतेदेखि १८ दिन निरन्तर गएको भूकम्पले करिब १२ खर्बको क्षति भएको अनुमान गरिएको छ । नेपालको चालू आर्थिक वर्षको बजेट ६ अर्ब १८ अर्ब रुपैयाँ हो । यसप्रकार विगत १८ दिनमा करिब १२ खर्बको क्षति हुनु दुई वर्षको बजेट बराबर रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रारम्भिक तथ्यांकअनुसार वैशाख १२ गते आएको महाभूकम्पबाट अर्थतन्त्रलाई करिब सात खर्ब क्षति भएको अनुमान गरिएको छ । यो कुल अर्थतन्त्रको करिब ३० प्रतिशत हुन आउँछ ।
- चीन र भारतबाट थप त्रिपाल आउन थाले, उद्धार तीव्र पार्न मोदीको निर्देशन
नेपालमा मंगलबार गएको दोस्रो ठूलो भूकम्पपछि छिमेकी मुलुक चीन र भारतबाट थप त्रिपाल तथा राहत सामग्री आउन थालेका छन् ।
परराष्ट्रका निमित्त सचिव शंकर बैरागीका अनुसार भूकम्प पीडितका लागि चीनको कुन्मिङबाट १० हजार थान त्रिपाल काठमाडौं आउने क्रममा छन् भने भारत सरकारले पठाएको ७० हजार थान त्रिपाल कोलकात्ता हुँदै मंगलबार रक्सौल आइपुगेको अन्नपूर्णपोस्टमा खबर छ ।
नेपालमा मंगलबार दोस्रो ठूलो भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक डाकेका छन् । उक्त बैठकमा मोदीले भूकम्पले पुर्याकएको जनधनको क्षतिबारे जानकारी लिएको भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत जनाएको छ ।
मोदीले भारतीय सरकारी निकायलाई नेपाल र भातरको विहारलगायत विभिन्न स्थानमा भूकम्पपछिको उद्धार तथा राहत वितरण गर्न निर्देशन दिएका छन् ।
- भूकम्पपछि उपत्यकामा चारको हृदयघाटबाट मृत्यु
उपत्यकामा मंगलबारको पराकम्पनमा आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा पाँच, भक्तपुरमा दुई र ललितपुरमा एक जनाको मृत्यु भएको हो । एसएसपी नारायणसिंह खड्काका अनुसार नयाँबजारमा नरमाया घले, गोकर्णेश्वरमा दुर्गादत्त श्रेष्ठ, भक्तपुरको बालकोटमा नारायण भट्टराई र बोडेमा श्यामसुन्दर श्रेष्ठको हृदयघातबाट मृत्यु भएको नयाँ पत्रिकामा खबर छ ।
हृदयघातबाट मृत्यु हुने सबै ६० वर्षमाथिका छन् । ठूलो भूकम्पबाट धेरै डराएर दौडधुप गर्दा हृदयघात भएकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news