बेल्डाडीका आमाहरुद्वारा भूकम्प पीडितका लागि गास संकलन

विमल धामी, जेठ १४ बेल्डाडी कञ्चनपुर- 
गत बैशाख १२ र २९ गते राजधानी लगायत देशका विभिन्न जिल्लामा आएको महाभूकम्पका कारण गाँस, वास र कपास बिहिन भएका भूकम्प पीडितहरुका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रका आमाहरुले गाँस संकलन गरेका छन् । 

जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीका आमाहरुले भूकम्प पीडितहरुको पेट खाली नराख्न गाँस संकलन गरेका हुन् । बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयसेविकहरुले आमा समुह मार्फत विभिन्न किसिमका खाद्यान्न समाग्री संकलन गरेको बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रले बताए । 

बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रका सिनियर अहेब छटौँ अधिकृत गिताराम रिजालले जिल्ला जन-स्वास्थ्य कार्यालयले भूकम्प पीडितहरुका लागि मुठीदान कार्यक्रम अन्र्तरगत बेल्डाँडीमा समेत महिला स्वास्थ्य स्वयय सेविका र आमा समुह मार्फत खाद्यान्न राहत संकलन गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार १७ क्विन्ट ९० किलो चामल, १५० किलो पिठो, ११६ किलो दाल लगायत आयोडिन नुन संकलन गरि बुधबारै जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरमा पठाईएको छ । बेल्डाँडीका आमाहरुले सो गाविसका सबै वडाहरुबाट उक्त राहत समाग्री संकलन गरेका हुन् ।

‘घरदैलो कार्यक्रम मार्फत हामीहरुले भूकम्प पीडितहरुका लागि राहत संकलन गरेका हौँ ।’, रिजालले भने । ‘जनस्वास्थ्य बाट भौतिक राहत मात्रै संकलनका लागि निर्देशन आएको थियो ।’ देशका राष्ट्रिय विप्ती परेका बेला बेल्डाँडी क्षेत्रबाट सक्दो सहयोग गर्ने उदेश्यले राहत संकलन गरेको बेल्डाँडी प्रथामिक स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयम सेविका चन्द्रा भट्टले बताईन् । ‘कुनै पनि विपद् संकटका बेला आमा र बच्चालाई बढि समस्या हुन्छ ।’

,उनले भने । ‘यस्तो विपद्का बेला हामीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेका हौँ ।’  पीडितहरुलाई केही दिन पुग्ने भएपनि भोको पेट नराख्न राहत संकलन गरिएको उनको भनाई छ ।  विपद्मा आमा र बच्चाको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने उनको सुझाव छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख बल बहादुर महतले जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुुरले मुठीदानका लागि सबै जनस्वास्थ्य कार्यालयहरुलाई संकलन गर्ने निर्देशन दिएको र अधिकाँस क्षेत्रमा संकलन भईरहेको जानकारी दिनुभयो । सबै क्षेत्रबाट राहत जिल्लापुगेपछि भूकम्प पीडित प्रभावित जिल्लाहरुमा पठाउने जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news