भुकम्प पीडितका लागि श्रम शिविर
जेठ १७ बाजुरा-
नेकपा एमाले बाजुराले भुकम्प पीडितहरुका लागि आर्थिक संकलन गर्न शनिबार श्रम शिविर सञ्चालन गरेको छ । जिल्ला कमिटीको निर्णय अनुसार नै श्रम शिविर सञ्चालन गर्दै आएको एमालेले शनिबार मार्तडी स्थित अग्नीराज शाहीको घरको छत ढलान गरेको हो ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा इन्चार्ज लालबहादुर थापा नेतृत्वको ७० जनाको टोलीले छतको ढलान गरेको पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनु भएको छ । एमालेले प्रत्येक सार्वजनिक र व्यक्तिगत योजनामा काम गर्ने र सो वापतको रकम भुकम्प पीडितलाई सहयोग गर्ने बताएको छ ।
श्रम शिविर मार्फत घर मालिक अग्नीराज शाहीले ३० हजार नगद दिनु भएको एमालेले जनाएको छ । एमालेले यस अघि सिमाने पानीमा शिविर सञ्चालन गरेर ५ हजार संकलन गरी सकेको छ । शिविर सञ्चालन गरेर देशमै नमुना योग्य र मानवीय सेवाको काम गरेको केन्द्रीय सदस्य लालबहादुर थापाले बताउनु भएको छ ।
श्रम शिविरलाई अभियानकै रुपमा सञ्चालन गर्ने बताएको एमालेले १ लाख बढी रकम संकलन गरेर केन्द्रमा पठाउने संगठन विभाग प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ । शिविरमा केन्द्रीय सदस्य लालबहादुर थापा, पार्टी उपसचिव गगन रावल, संगठन विभाग प्रमुख जनक कुमार बोहरा, अमर खड्का, लगायत पार्टी भातृसंगठनदेखि निजामति कर्मचारी संगठनसम्मका व्यक्तिहरुले समेत काम गरेका थिए ।












0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news