अल विदा सुवेक!

प्रशन्न पोखरेल -

साहसी, सहयोगी क्याप्टेन जसले सयौंलाई बचाए,आफूलाई बचाउन सकेनन्
मैले बसभन्दा पहिले हेलिकोप्टर देखेको हुँ। म जस्तै पहाडमा घर हुनेहरुले बसभन्दा पहिले हेलिकोप्टर देख्छन्। बस चढ्न छोप्राकदेखि १३ किलोसम्म हिड्नुपर्थ्यो। जब म हिड्न सक्ने भएँ, त्यसपछि बस देखे, चढेँ। तर, आकाशतिर हेर्दा मेलै दिनहुँ धेरै हेलिकोप्टर, जहाज उडेको दख्थेँ।
पाँच वर्षको उमेर भएपछि बस चढेँ। सधै आकाशमा देखेको हेलिकोप्टर चढ्न २२ वर्ष काट्नुपर्‍यो। त्यो १२ वैशाखमा गएको महाभूकम्पपछि एक हप्ता बितिसकेको समय थियो। महाभूकम्पले सदरमुकाम वरपर खासै प्रभाव पारेको थिएन। केन्द्रबिन्दू बारपाक हिँडेर जाने आँट आएन। परकम्पहरू गइरहेको थियो। घाइते ओसार्ने क्रमः कम हुँदै गएपछि राहतसँगै गाउँमा पत्रकार जान थाले।
हेलिकोप्टर नजिक पुग्न सम्भव थिएन। हेलिप्याड पुग्ने बाटो नेपाली सेनाले काँडेतारले छेकेको थियो। दिनभर टन्टलापूर घाममा घाइते ओसारेको तस्वीर खिच्न ठिँगुरेस्वाँरामा बिताइन्थ्यो। रेडियो नेपाल र राससले गाउँ जान अनुरोध गर्थे। जान सम्भब थिएन। बाटो चिराचिरा परेको, पहिरो झरिरहेको थियो।
नेपाली सेनाको समन्वयमा आरूआर्वाङ गाविस जानको लागि हेलिप्याड भित्र गएँ। सँगै थिए नागरिकका गोरखा संवाददाता नरहरि सापकोटा। राहतले भरिएको हेलिकोप्टरमा दुई जना अटेन। ‘लोड धेरै भएजस्तो छ। एकजना झर्नुपर्‍यो’ क्याप्टेन सुवेकले भने। म झरे, नागरिककर्मी नरहरि अघिल्लो सिटमा बसेर आरूआर्वाङ्ग गए।
दोस्रो दिन हेलिप्याडमा देख्नेबित्तिकै सुवेकले मलाई चिनेँ। ‘आज त झर्नुपर्दैन। ढुक्कसँग बस्ने’, सुवेकले भने, ‘मैले हुन्छ भनिदिए।’ हेलिकोप्टर स्टार्ट भयो। सुवेकले मलाई सम्झाए, ‘यो माथिल्लो भागमा नछुनुहोस् है। स्टार्ट बन्द भयो भने आकाशको आकाश। जीन्दगी चट!’ सिम्जुङको पोखराटारका लागि हेलिकोप्टर आहलेको डाँडो हुँदै माथि लाग्यो। मैले आकाशबाट गोरखाबजार हेरेँ। क्या सुन्दर।
सुवेक मेरो भर परेर पोखराटार पुगेका थिए। उनले पोखराटार कहाँ पर्छ भन्ने यकीन गरेका थिएनन्। नक्सा हेर्न समय लाग्ने भएकाले ‘ठाउँ चिन्ने प्रशन्नजी हुनुहुन्छ हेर्नुपर्दैन नक्सा’ भन्दै उनले हेलिकोप्टर उडाएका थिए। गाडी चढेर पोखराटार पुगेको मैले यहीँनेर हो रोक्नुस् भन्न सकिनँ। आकाशबाट हेर्दा कहाँनेर हो कहाँनेर भयो।
पोखराटारका घाइते लिन गएको हामी चार ठाउँमा ल्याण्ड गरेपछि पोखराटार पुग्यौं। कहिले मकैबारी, कहिले खेत हुँदै हुँदै सुवेकले पोखराटारको सडकमा हेलिकोप्टर ल्याण्ड गरे।
हेलिकोप्टरबाट हेर्दा नागरिककर्मीहरू सुरेन्द्र पौडेल, विजय राई र नरहरि सापकोटा मोटरबाइकमा त्यहीँ आइपुगे। सुवेक छक्क पर्दै भने, ‘हेर्नुस् त प्रशन्नजी, यो नरहरि कसरी यहाँ?’ मैले बाइकमा आएको बताए। सुवेकले नरहरिलाई भेट्ने काम भएको बताए। ‘के काम छ र त्यस्तो? उनले भने, ‘नागरिकमा मेरो कोड राखेर न्यूज लेख्छु भन्थ्यो। बिहानभर नागरिक हेरेँ, गोरखाको न्यूज थियो। मेरो नाम थिएन।’ उनले नरहरिलाई भेटेपछि भने, ‘खै त मेरो नाम?’ नरहरिले अर्को समाचार लेख्दा हजुरको नाम राख्छु भनिदिए। घाइतेलाई कसरी मिलाएर राख्ने काममा सुवेक जुटे। हामीले तस्वीर कैद गर्‍यौं।
घाइते लिएर फर्कँदा सुवेकले नरहरिले न्यूजमा नाम नराखेको तीन पटक भनेँ। ‘म राखौंला हजूरको नाम र घाइते बोकेको फोटो’ मैले भने, ‘ए मिल्छ, हुन्छ नि उनले भने।’ तर, उनको फोटो प्रकाशित भएन। उनले मसँग पनि गुनासो गर्थे होला तर, समयले त्यो मौका उनलाई दिएन।
सुवेक साहसी थिए। मान्छेको मृत्युपछि गुणगान गाइन्छ भन्छन्। तर, गुणगान होइन सत्य त्यहीँ हो उनी साहसी थिए। अँध्यारो हुने पक्का हुँदा पनि उनी लाप्राक गए। ‘लाप्राकमा उद्धार टोली पहिरोमा पुरिएको भन्ने समाचार अनलाइनहरूले लेखेपछि बुझ्न हेलिकोप्टर पठाउने तयारी थियो। फर्कंदा अध्यारो हुने निश्चित भएपनि सुवेकले सेनाका मेजर र  नागरिककर्मी नरहरिलाई साथै लिएर लाप्राक हानिए। लाप्राक पुर्‍याएर हेलिकोप्टर गोरखाको नाम्जालीडाँडामा ल्याण्ड हुँदा रिमरिम भैसकेको थियो। त्यो हेलि काठमाण्डौंको लागि उड्यो। दिनभर जहाँ भएपनि राति घर पुग्ने सुवेकको बानी रहेछ।
महाभूकम्पपछि घाइतेहरूको उद्धारमा बिहान आठ बजेदेखि बेलुकी साँझसम्म माउन्टेन एअरको हेलिकोप्टर उड्यो। त्यसको चालक थिए, क्याप्टेन सुवेक श्रेष्ठ। सुवेकलाई उत्तरी गोरखाका धेरै मानिसले चिनिसकेका थिए। भूकम्प जानुअघि उनी उत्तरी गोरखा पनि गइराख्थें। धेरै घाइतेहरुलाई सदरमुकामका अस्पताल ल्याउने काममा खटिएका सुवेकलाई गोरखालीहरू धेरैले चिन्दथें। रातो रङको हेलिकोप्टर आएपछि सुवेक हो भन्ने धेरैलाई थाहा भैहाल्थ्यो।
जहाँको घाइते लिन गएको हो त्यहाँको घाइते लिएरै फर्केने उनको बानि थियो। उनी कामको पक्का थिए। घाइते खोज्दै गाउँगाउँ पनि पुगे। नागरिककर्मी सापकोटा भन्छन्, ‘आरूआर्वाङ्ग पुग्दा हेलि ल्याण्ड गर्ने ठाउँमा एउटै घाइते रहेनछन्। चार ठाउँमा ल्याड गरेर घाइते खोजेर सदरमुकाम ल्यायौं।’ केही पाइलटहरू तोकिएको ठाउँमा तोकिएको समय बितेपछि फर्कन्छन्। तर, सुवेकले घाइते खोजीखोजी उपचार गर्न ल्याएँ। सयौंको ज्यान बचाए।
तर, उनले आफ्नो ज्यान बचाउन सकेनन्। सिन्धुपाल्चोकमा उनको निधन भएको खबर सुनेपछि गोर्खालीहरू दुःखी छन्। अस्पतालमा उपचार गराइरहेका घाइतेहरु स्तब्ध भएका छन्। जोखिम मोलेर सिन्धुपाल्चोकको उत्तरी विकट क्षेत्र तोम्बाथान पुगेर फर्कंदा उनले ज्यान गुमाए।
उनीसँगै चार जनाको ज्यान गयो। माउन्टेन एअरको ९ एनएजेपी हेलिकोप्टर अनियन्त्रित भएर दुर्घटना भएपछि उनको ज्यान गएको थियो।
सुवेकको निधन भएपछि सामुदायीक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष किशोरजङ थापाले मलाइ टेलिफोन गरेर भने, ‘हाम्रो साथीको निधन भएछ।’ पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले भने, ‘सुवेक रहेनन्।’ नागरिककर्मी नरहरिलाई मैले नै भने, ‘माउन्टेन दुर्घटनामा सुवेक जी पर्नुभएछ। फोन लागेन।’ म फोन गर्छु, बुझ्छु भन्दै उनले फोट राखे।
एक जना मनकारी, साहसी र अनुशासित क्याप्टेनको निधनले नरमाइलो लागेको छ। के नभएजस्तो, के गुमाएजस्तो भइरहेछ। अल बिदा सुवेक! लेख सेतोपाटीबाट साभार गरिएको हो  । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news