पाँचौ जिल्ला स्तरीय बाल भेला मार्तडीमा सुरु

जेठ १७ बाजुरा-
पाँचौ जिल्ला स्तरीय बाल भेला शनिबार बाट मार्तडीमा सुरु भएको छ । जिल्लामा गठन भएका बाल क्लबको संस्थागत विकास, बाल अधिकारको वर्तमान अवस्था बारे छलफल गर्न भेलाको आयोजना गरिएको हो । भेलाबाट जिल्ला बाल अधिकार मञ्चको नयाँ नेतृत्व पनि चयन गरिने बाल अधिकार अधिकृत सर्पलाल गिरीले जानकारी दिनु भएको छ । 
जिल्ला बाल कल्याण समितिको आयोजना, सेभ द चिल्डेन, पीसविन, असल छिमेकी, लगायतका निकायको सहयोगमा भेलाको आयोजना गरिएको हो । भेलामा २४ गाविस र १ नगरपालिकामा गठन भएका बाल क्लबका प्रतिनिधि र बाल अधिकारका क्षेत्रमा काम गर्ने निकायका व्यक्तिहरुको उपस्थिति रहेको छ । 
बाल दुव्र्यवाहार, बाल विवाह, बाल यौन शोषण, बालमैत्री शिक्षण सिकाईको अवस्था सुधार बारे आवश्यक रणनीति र योजना तय गर्ने गरी दुई दिने भेलाको आयोजना गरिएको सहयोगी संस्था पीसविन एकीकृत परियोजना संयोजक चेतराज पाध्यायले धन्यवाद मन्तव्य राख्दै जानकारी गराउनु भएको थियो । 
जिल्ला बाल अधिकार मञ्चका अध्यक्ष मुकुन्द्र प्रसाद जैशीको अध्यक्षतामा सञ्चालन भएको भेलाको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी एवं बाल कल्याण समिति संयोजक धनप्रसाद शर्मा पौडेल लोकमानसिंक कार्कीको स्वागतका लागि जानु भएपछि खाली राखिएको थियो । 
कार्यक्रममा काँग्रेसका मनमति बुढा, एमालेका दिलबहादुर कुँवर, एमाओवादीका राजेन्द्र बुढा, नेकपा माओवादीका पवित्रा विक, राप्रपा नेपालका कान्तबहादुर शाही, सेभ द चिल्डेनका टिकाराम विक, सामुदायिक प्रहरी सेवा केन्द्रका काल्चे दमाई, पत्रकार महासंघ अध्यक्ष मदनराज जैशी लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सत्यनाराण जोशी, दिलिप बुढा, रमेश नेपाली, प्रदीपराज जैशी, केश रोकाया लगायतका व्यक्तीहरुले आ आफ्नो कला प्रस्तुत गर्नु भएको थियो । 
मञ्चका सल्लाहकार संयोजक विश्वराज जैशीले सञ्चालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य मञ्चका सचिव सुरेन्द्र भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा कार्यपत्र सहितको प्रतिवेदन बाल अधिकार अधिकृत सर्पलाल गिरीले प्रस्तुत गर्नु भएको थियो । 
जिल्ला विकास समितिको समिक्षालय हलमा आयोजना गरिएको भेला बाजागाजा सहितको र्यालीबाट सुरुवाद गरिएको थियो । आज सम्म चल्ने भेलाबाट नयाँ नेतृत्व र आगामी योजना सहित मार्तडी घोषणा पत्र जारी गर्ने तयारी गरिएको छ । भेलामा ६० बढी बालबालिका र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
जिल्लामा २०५७ साल जेष्ठ २२ गतेबाट आटीचौर ४ ओलीगाउँबाट बाल अधिकार संरक्षण तथा बाल क्लब गठन अभियान सुरु भएको थियो । पीसविनले दौतरी बाल क्लबको स्थापना सँगै सुरु गरेको अभियानका क्रममा हाल जिल्लामा २ सय १२ वटा क्लब दर्ता भई कार्य सञ्चालन गरिहेका छन् । 




,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news