पूर्वमा डेढ दर्जन पत्रकार चुनावी मैदानमा, मोरङमा मात्रै आठ जना



दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पूर्वमा क्रियाशील पत्रकार चुनावी मैदानमा होमिएका छन्। पूर्वका विभिन्न जिल्लामा गरेर १६ जना पत्रकार उम्मेदवार बन्ने टुंगो लागिसकेको छ।
उम्मेदवारी घोषणा गरेका पत्रकारले काम गरिरहेको सञ्चारगृहको जागिर तथा पत्रकार महासंघको जिम्मेवारीबाट समेत हटेर उम्मेदवारी घोषणा गरेका हुन्।
हालसम्म पूर्वमा सबैभन्दा धेरै मोरङमा पत्रकार उम्मेदवार बन्ने पक्का भएको छ। मोरङको विभिन्न तहमा गरेर यहाँ ८ जना पत्रकार स्थानीय तह चुनावमा उम्मेदवार बनेका छन्।
पूर्वबाट उम्मेदवार बनेका १६ जना पत्रकारमध्ये ११ जना पुरुष छन् भने ५ जना महिला रहेका छन्। जसमा सबैभन्दा धेरै माओवादी केन्द्रले ६ जनालाई स्थानीय तह चुनावमा उम्मेदवार बनाएको छ। सबैभन्दा कम नेपाली कांग्रेस र राप्रपाका तर्फबाट एक÷एक जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन्।
त्यसैगरी, दोस्रोमा नेकपा एमालेले विभिन्न क्षेत्रबाट ५ जना पत्रकारलाई उम्मेदवार बनाएको छ। पूर्वका एक जना पत्रकारले स्वतन्त्र उम्मेदवारी दिएका छन्। अल्पसंख्यक समुदायबाट एक जना महिलाले टिकट पाउँदा एक जना जनजाति महिला पत्रकारले टिकट पाएकी छन्।
मोरङमा सबैभन्दा धेरै आठ जना चुनावी मैदानमा
हालसम्म टुंगो लागेका मध्ये मोरङमा ८ जना पत्रकार नगरपालिका र गाउँपालिकामा चुनाव लड्दैछन्। जसमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका महेन्द्र विष्ट मोरङको पथरी–शनिश्चरे नगरपालिकाको ५ नम्बर वडाबाट वडाध्यक्ष पदको उम्मेदवार बनेका छन्। विष्टलाई नेकपा एमालेले वडाध्यक्षको टिकट दिएको हो।
त्यस्तै पत्रकार महासंघका निवर्तमान कार्यसमिति सदस्य किशोर बस्नेत पनि चुनावी मैदानमा छन्। उनलाई एमालेले विराटनगर उपमहानगर–१ बाट वडाध्यक्ष पदमा उठाएको छ।
पत्रकार महासंघ मोरङका सचिव नवराज कट्टेल इलामबाट उम्मेदवार बनेका छन्। उनलाई माओवादी केन्द्रले इलामको रोङ गाउँपालिकाको प्रमुख पदमा उठाएको छ।
अर्का पत्रकार गोकुल पराजुली विराटनगर महानगरपालिका–४ बाट उम्मेदवार बन्ने भएका छन्। उनी पनि माओवादी केन्द्रबाटै वडाध्यक्षको उम्मेदवार बनेका हुन्।
पत्रकार महासंघ, मोरङकी सदस्य अप्सरा निरौला विराटनगर–३ बाट महिला सदस्यमा उम्मेदवार बन्ने टुंगो लागेको छ। उनलाई पनि माओवादीले टिकट दिएको हो।
अर्का पत्रकार किशन शाही मोरङको केराबारी गाउँपालिका–१० बाट चुनाव लड्ने पक्का भएको छ। उनलाई माओवादीले १० नम्बर वडामा वडाध्यक्ष पदमा उम्मेदवार बनाएको हो।
त्यसैगरी विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार भक्तसेर लिम्बू पनि केराबारी–९ मा वडाध्यक्ष पदको उम्मेदवार बनेका छन्। उनले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका हुन्।
पत्रकार महासंघ मोरङका सदस्य दिनेश गिरी बेलबारी नगरपालिका–१ बाट वडा सदस्यमा उम्मेदवार बन्ने टुंगो लागेको छ। उनलाई नेपाली कांग्रेसले टिकट दिएको हो।
इलाममा तीन जना, अल्पसंख्यक महिला पनि भिड्दै
दोस्रो चरणको चुनावका लागि मेची पहाडको इलाममा ३ जना पत्रकार उम्मेदवार बनेका छन्। त्यहाँ दुई पत्रकारले पत्रकार महासंघ इलाम शाखाबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्। अर्की एकजना अल्पसंख्यक महिला पत्रकारले पनि उम्मेदवारी दिएका छन्।
इलाम शाखाका कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा एमालेबाट उम्मेदवार बनेका हुन्। राई सूर्योदय नगरपालिका–९ र श्रेष्ठ इलाम नगरपालिका–५ बाट वडाध्यक्षको उम्मेदवार बनेका हुन्।

त्यस्तै पत्रकारितामा सक्रिय अलसंख्यक समुदायकी संगीता थामी माइजोगमाई गाउँपालिकामा उम्मेदवार बनेकी छन्। उनलाई माओवादी केन्द्रले गाउँपालिकाको उपाध्यक्षमा उठाएको हो।
झापामा दुवै जना महिला, कवि पनि भिड्दै
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा झापामा २ जना पत्रकार उम्मेदवार बनेका छन्। त्यहाँ उम्मेदवारी दिनेमा दुवैजना महिला रहेका छन्।
झापाको बिर्तामोड नगरपालिकाको उपमेयरमा लीला अनमोलले उम्मेदवारी दिएका छन्। अनमोल कवि तथा गजलकारसमेत हुन्। उनलाई राप्रपाले उम्मेदवार बनाएको हो।
त्यस्तै अर्की पत्रकार गंगा बरालले भद्रपुर नगरपालिकाको वडा नम्बर ४ बाट सदस्य पदमा उम्मेदवार बनेकी छन्। उनलाई एमालेले टिकट दिएको हो।
भोजपुरमा एक जना
पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि एक जना पत्रकार स्थानीय चुनावको उम्मेदवार बनेका छन्। नेपाल पत्रकार महासंघ भोजपुर शाखाका पूर्वसहसचिवसमेत रहेका राजिनकुमार राई आम्चोक गाउँपालिका वडा नम्बर २ बाट वडाध्यक्ष पदको उम्मेदवार बनेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रले टिकट दिएको हो।
ओखलढुंगामा दुई जना
ओखलढुंगामा स्थानीय तह निर्वाचनका लागि २ जना पत्रकार उम्मेदवार बनेका छन्। रमाइलो सामुदायिक रेडियोमा कार्यरत पत्रकार नवराज खड्कालाई नेकपा माओवादी केन्द्रले सुनकोसी गाउँपालिकाको ३ नम्बर वडाको वडाध्यक्ष पदको उम्मदेवार बनाएको हो।
त्यस्तै प्रेस सेन्टर नेपाल ओखढुंगाका उपाध्यक्ष अन्जुला घिसिङ पनि उम्मेदवार बनेकी छन्। उनलाई जनजाति महिला पनि भएकाले मोलुङ गाउँपालिकाको उपप्रमुख पदको उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news