भूकम्प अति प्रभावित जिल्लाका २९ सय विद्यालय चालु आर्थिक वर्षभित्रै बन्ने

काठमाडौं फागुन २२ – शिक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा भूकम्पका कारण भत्किएका मध्ये झण्डै २९ सय विद्यालय भवन पुनर्निर्माण गर्ने भएको छ । मन्त्रालयले २ हजार ८ सय ७५ वटा विद्यालय पुनर्निर्माणका लागि अर्थमन्त्रालयसँग रकम निकासा गर्न माग गरेको छ । 
अर्थ मन्त्रालयबाट अख्तियारी प्राप्त भएपछि सम्बन्धित जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालय भवन पुनर्निर्माणको काम सुरुवात हुने शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बताउनुभयो । ‘यस वर्ष २८ सय ७५ विद्यालय भवन पुनर्निर्माणका लागि रकम निकासा लागि अर्थमन्त्रालयलाई पत्र पठाएको छौं, अख्तियारी प्राप्त हुन साथ सम्बन्धित जिल्ला शिक्षा कार्यालय मार्फत पुनर्निर्माणको काम अगाडि बढाइनेछ’ सचिव श्रेष्ठले भन्नुभयो । 
मन्त्रालयले तीन वर्षभित्र विद्यालय पुनर्निर्माण सक्ने लक्ष्य लिए पनि भूकम्प गएको २२ महिना बितिसक्दा पनि भूकम्प प्रभावित १४ जिल्लामा सरकारको बजेटमा एउटा पनि विद्यालय भवन पुनर्निर्माण हुन सकेको छैन । 
तथ्यांक संकलनमै लामो समय लागेकाले पुनर्निर्माणमा ढिलाइ भएको सचिव श्रेष्ठले बताउनुभयो । ‘जिल्ला शिक्षा कार्यालयहरुबाट एकीन विवरण आउन पनि ढिलाइ भयो, प्रक्रियामै लामो समय लागेको हुनाले भवन पुनर्निमाण हुन समय  लागेको हो, अब जस्ताको छानो भएको पक्की भवन बनाइने भएकाले यही आर्थिक वर्षभित्र ती विद्यालय भवन बन्नेछन्’ उहाँले भन्नुभयो । 
लामो समय विद्यालय भवन नबन्दा बालबालिका डेढ वर्षदेखि छाप्रोमै पढ्न बाध्य छन् । भूकम्प अति प्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालय थिए । विद्यालय पुनर्निर्माणका लागि सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news