शोकमग्न बारपाकको यथार्थ
![]() |
| प्रदीप ज्ञवाली, सचिव, एमाले |
ध्वस्त बारपाकमा राहतमा जे–जति आउँछ, त्यसलाई वडा तहसम्म संरचना बनाएर सबैलाई बराबर बाँड्ने पद्धति बसालिएको छ । मान्छेले खण्डहरबाट नयाँ जीवनको बीजारोपण सुरु गरिसकेका छन् ।
पृष्ठभागमा मनास्लु, गणेश र विभिन्न हिमशिखरहरू । गाउँको सिरानमा हरियाली वन । ढुंगाको छानो, ढुंगाकै गारो र एउटै लहरमा आबद्ध घरहरू । ढुंगा छापेको सडक–गल्ली र मिलेका मनहरू । अनारदानाजस्ता दाँत खोलेर पोखिएको सुन्दर मुस्कानजस्तो बस्ती । भाइ प्रकाश थापाले बनाएको फिल्म ‘वल्र्ड कप इन नेपाल’ मा यस्तो अद्भुत गाउँको दृश्यांकन देख्दा मन त्यसै–त्यसै सम्मोहित भएको थियो । यो गाउँका बारेमा केही थाहा पाएदेखि नै एउटा हुटहुटी मनमा पलाएको थियो– एकपटक बारपाक पुग्न पाए ! जेठ १३ गते बारपाक त पुगियो, तर मोरो परेको घरमा पाहुना लाग्न गएजस्तो । खण्डहर गाउँको सिरानको थुम्कोमा भग्नावशेषमाथि उभिएर एउटी महिला एक्लै विलाप गरिरहेकी थिइन् ।
छाती चिरिने रुवाइबाटै उनीभित्रको अथाह पीडाको गहिराइ अनुमान गर्न सकिन्थ्यो । उनी १२ गतेको विनाशलीलामा प्यारी छोरी, भतिजी, सासु र देउरानी गुमाएकी कान्छी गुरुङ रहिछन् । रोटी पकाउँदै गरेका उनीहरू भुइँचालाले पुरिएपछि चुलोबाट सल्केको आगोले खरानी परेका रहेछन् । एकजनाको दाँतसहितको सानो अस्थि र अर्की एकजनाको एउटा पाखुराको अवशेष भेटिए पनि बाँकीको कुनै निसानीसम्म फेला परेको रहेनछ । त्यो दिन भग्नावशेषबाट काठ निकाल्दा लाससम्म नभेटिएका आफन्तको पीडादायी सम्झनाले उनको घाउ बल्झाइदिएको रहेछ । ध्वस्त बनेको बारपाक र निरन्तर बल्झिरहेको पीडाकी उनी प्रतिनिधि पात्र रहिछन् ।
मलाई मात्र होइन, क्यानाडामा बस्ने छोरी टीकामाया गुरुङको सौजन्यबाट प्राप्त राहत सामग्री बोकेर आएको पोखरेली भुपु सैनिक टोलीका लागि पनि बारपाकसँगको यो पहिलो साक्षात्कार कहिल्यै नमेटिने पीडासँगको साक्षात्कार थियो । भारतीय र बेलायती सेनामा काम गर्ने गोर्खा सैनिकका लागि बारपाक त्यसै पनि आकर्षक गन्तव्य हो, किनभने यो फौजीहरूका ‘आइकन’ भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ जो हो । तर, बारपाकका अरू हजार घरजस्तै गजे घलेको घरको पनि कुनै नामनिसाना थिएन ।
बस्, जताततै भत्किएका ढुंगाको खण्डहर मात्रै थियो । एउटा केराको बोट भने घरको अवशेष कुरेर बसेजस्तै देखिन्थ्यो र पातहरू सुस्त–सुस्त हल्लिरहेका थिए । एक ठाउँ हामीले भग्नावशेषभित्र ठडिएको ‘बारपाक ट्याटु हाउस’को साइनबोर्ड देख्यौँ, जसले भुइँचालोले ध्वस्त हुनुअघि यो गाउँ आर्थिक गतिविधि र सौन्दर्यको खोजीमा कति जीवन्त रहेछ भन्ने साक्षी बकिरहेको थियो । वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सिर्जना गरेको ध्वंस र विपत्तिको प्रतिनिधि बनेर बारपाक उभिएको छ (उभिएको के भन्नु, भुइँमा पसारिएको छ ।) भूकम्पको केन्द्रबिन्दु भनिएको सिन्दारा पहरोको विशाल पहिरो र धुलोपिठो बनेको मान्द्रे गाउँको दृश्यले जोकोहीलाई कहाली लगाउँछ ।
७० भन्दा बढी आफन्त गुमाएको यो गाउँ धुलो टकटक्याएर उठ्ने प्रयासमा छ । बारपाक त एउटा दृष्टान्त हो, भूकम्पले ल्याएको विध्वंस र विनाशको । यतिवेला मुलुकका डेढ दर्जन जिल्लाका पाँच सयभन्दा बढी गाविसका हजारौँ गाउँ यस्तै विनाशको साक्षी बनेर खडा छन् । ध्वस्त भएका बस्ती, त्रिपालमुनिको जिन्दगी, राहतको आशामा बाटो कुर्ने आँखाहरू एवं स्कुल भत्किएर बन्द भएका कारण अलपत्र नानीहरू, नेपालले यतिवेला शताब्दीकै सबैभन्दा ठूलो संकटको सामना गरिरहेको छ । सशस्त्र द्वन्द्वले एघार वर्ष र संक्रमणकालीन उकाली–ओरालीले नौ वर्ष गरी झन्डै दुई दशक पछाडि परेको नेपालमा, थाहा छैन, यस विनाशबाट ‘रिकभर’ हुन कति समय लाग्ने हो ।
सही दृष्टिकोण अपनाइएन, कुशल नेतृत्व प्राप्त भएन र विवेक पुर्याइएन भने यस विनाशले नेपाललाई साँच्चै असफल राष्ट्र बनाउने जोखिम पनि छ । केही नकारात्मक संकेत देखिई पनि सकेका छन् । राज्य भ्रष्ट छ त्यसैले राज्य कोषमा एक पैसा सहयोग नगर भन्ने प्रयासका रूपमा । दुई पोका चाउचाउ बाँडेर सेल्फी खिच्दै पार्टी र नेताहरूले केही गरेनन् भन्ने अभियानका रूपमा । राहतको चरण सकिइसक्दा पनि विभिन्न बहानामा सैन्य उपस्थिति कायमै राख्ने विदेशी प्रयासका रूपमा । कुल बजेटको तीनचौथाइभन्दा बढी हिस्सा आफ्नै कर्मचारीका लागि खर्चेर ठूलो धनराशि खर्च गरेको देखाउने महँगा आइएनजिओका धन्धाका रूपमा, आदि आदि ।
आरु आर्वाङमा स्कुलको टहरो बनाएर फर्कने क्रममा हामीले घ्याम्पेसालनजिकै स–साना नानीहरूको ठूलो हुल देख्यौँ, जसले गाडी रोकेर ‘चाउचाउ चाउचाउ !’ ‘बिस्कुट बिस्कुट †’ भन्दै हात थापिरहेका थिए । दृश्यले कटक्क मन काट्यो । बारीमा मकै गोड्ने वेला भयो, काटेको गहुँ चुट्न बाँकी नै छ । तर, मान्छे राहतको दुई माना चामल र केही पोका चाउचाउका लागि दिनभरि लाइन लाग्न तयार छन् । कतै हामी पीडितलाई मगन्ते त बनाइरहेका छैनौँ ? तर, कालो बादलमा चाँदीको घेरा पनि देखिएको छ । ध्वस्त बारपाकमा हामीले बलियो सामुदायिक एकता देख्यौँ । राहतमा जे–जति आउँछ, त्यसलाई वडा तहसम्म संरचना बनाएर बाँड्ने र सबैलाई बराबर बाँड्ने राम्रो पद्धति बसालिएको रहेछ । मान्छेले खण्डहरबाट नयाँ जीवनको बीजारोपण गर्न सुरु गरिसकेका छन् ।
जितबहादुर भन्दै थिए– सर, सरकारले सबैभन्दा पहिले यो गाउँको भौगर्भिक अध्ययन गरिदिनुपर्यो, बस्न मिल्ने र नमिल्ने ठाउँ छुट्याइदिनुपर्यो । त्यसपछि एउटा गुरुयोजना बनाइदिओस् सरकारले, त्यसलाई हामी जसरी पनि सम्पन्न गरेरै छाड्छौँ । लघु जलविद्युत्को क्षेत्रमा सक्रिय वीरबहादुर गुरुङको पनि अठोट थियो– गाउँमा नवर्निर्माण गर्न सकिन्छ । मुहारमा अझै पनि त्रासको छाया सलबलाइरहेकै छ । आँखामा अझै पनि पीडा छचल्किरहेकै छ । तैपनि, ती सबैलाई बिर्संदै मुस्काउने प्रयासमा छन् उनीहरू ।
मान्द्रेमा भत्किएकै घरछेउ फेरि चियापसल सुरु गरेकी युवती आसिका हुन् या शिक्षक सीताराम दवाडी, सबैमा भग्नावशेषबाट नयाँ जीवन अगाडि बढाउने अठोट पलाउँदै गरेको देखिन्छ । निश्चय नै अगाडिका दिन सुगम छैनन् । मान्छेको मनजस्तै छियाछिया परेर चिरिएका डाँडाबाट यो वर्ष जाने पहिरो र बाढीको कल्पनाले आङै सिरिंग हुन्छ । गोरखाकै कुरा गर्दा लाप्राक र केरौँजाको सिंगै गाविस र अरू धेरै गाविसका विभिन्न बस्तीलाई सुरक्षित पुनस्र्थापना गराउनुपर्ने चुनौती छ । बर्खायाममा पुग्ने गरी खाद्यान्नको जोहो गर्नुपर्ने छ र त्यसलाई पीडितसम्म पुर्याउनु छ ।
विद्यालय भत्किएर भविष्य अलपत्र भएका हजारौँ विद्यार्थीलाई भूकम्पसिर्जित मानसिक ‘ट्रमा’बाट बाहिर ल्याएर सामान्य जीवनमा फर्काउनु छ । त्यसका लागि विद्यालयमा टहरा बनाउने अभियान सुरु भए पनि अझ पर्याप्त हुन सकेको छैन । भूकम्पले भौतिक संरचना ध्वस्त भए पनि मनोबल, आत्मविश्वास र भविष्यप्रतिको आशावादितालाई ध्वस्त हुन नदिनु सबैभन्दा ठूलो चुनौती विद्यमान छ । यस्तो अवस्थामा पार्टीले सुरु गरेको राष्ट्रिय स्वयंसेवक अभियानअन्तर्गत सयौँ स्वयंसेवक अहिले गाउँ–गाउँमा खटिएका छन् ।
यस अभियानमार्फत हामीले पीडितलाई एउटा सन्देश दिन चाहेका छौँ– दु:खको यस घडीमा तपाईंहरू एक्लो हुनुहुन्न है, हामी पनि तपाईंहरूकै साथमा छौँ । पीडाको यो सह–अनुभूति र पहाडको घाउमा मल्हम लगाउन मधेसका युवा खटिएको अवस्था, गोरखाको पीडालाई साथ दिन कास्की र पर्वत–बागलुङ–म्याग्दीका साथीहरूको उपस्थिति, रसुवामा घर बनाउन नवलपरासी र रुपन्देहीबाट पौरखी हात सक्रिय रहेको अवस्था अनि सिन्धुपाल्चोकको आँसु पुछ्न मेची, राप्ती र अन्य विभिन्न भूभागबाट मानव मनहरूको उपस्थितिले पीडितलाई ठूलो सहयोग पुगेको छ । अन्य पार्टीका स्वयंसेवकहरू पनि खटिइरहेका देखिन्छन् ।
यसले एउटा बलियो आत्मविश्वास, राष्ट्रिय एकता र आत्मनिर्भर विकासको सोचलाई पनि अभिप्रेरित गरिरहेको छ । यतिवेला सर्वाधिक खाँचो छ एउटा बलियो राष्ट्रिय नेतृत्वको, जसले आमजनतालाई अपिल गर्न सकोस् कि यो विनाश अस्थायी परिघटना हो, यसमाथि विजय प्राप्त गर्न सम्भव छ । खाँचो छ एउटा बलियो राष्ट्रिय नेतृत्वको, जसको अपिलले मान्छेमा आशावादिता र विश्वासको सञ्चार गर्न सकोस् र राष्ट्रलाई कठिन अवस्थाबाट बाहिर निकाल्न सही मार्गदर्शन गर्न सकोस् ।नयाँ पत्रिकाबाट







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news