राहात
![]() |
"स्टाफ कलेजमा कार्यक्रम छ, ओरिएन्टेसन । तपाईं तुरुन्तै त्यहाँ पुग्नुस् । अहिले नै ।"
भूकम्प गएका बेला आफ्नो जिउधनको सुरक्षा र सकेको भए अन्य पीडितको उद्धार गर्न जानुपर्ने बेलामा केको ओरिएन्टेसन— 'कुन्नि केको बेला के' भने जस्तो ।
तर जागिर खाएपछि जानु त पर्यो । परियोजना संयोजकको आदेश । थरर कामिरहेका हातगोडालाई भर दिन नसकिरहेका बेला मोटरसाइकल निकालेर हान्निएँ जावलाखेलतिर ।
विदेशबाट चिकित्सकको टोली आएको रहेछ । मेरो पूर्वानुमान र विश्लेषण गलत भयो ।
भूकम्पमा परेकाका लागि लक्षित गरेर विदेशबाट आएको स्वास्थ्यकर्मीहरूको जम्बो टोली देखेपछि ढुक्कले सास लिएँ ।
'धन्य ! पीडितको उद्धारका लागि केही गर्न सकिने भयो ।' मनको कुनालाई अलिकति ऊर्जा मिल्यो ।
भूकम्पमा परेर परिवारले पाएको दर्दलाई एकै छिन भुलेँ— कान्छी छोरीको हातमा लागेको चोट । पतिको खुटामा लागेको घाउ । सासू लडेर झन्डै ढाडै भाँच्चिएको । छोराको सातो गएको सातो ।
"नाम दर्ता गरौँ ।" आयोजकको निर्देशनअनुसार अरूसँगै म पनि हलमा प्रवेश गरेँ ।
"तपाईंहरू स्वयं सेवक हो, विदशी टोलीलाई सहयोग गर्ने ।" विदेशीको झुन्डमा एक जना नेपाली आएर ग्रुप विभाजन गरायो—
"पहिलो ग्रुपमा ठाडो भर्याङ, विजेश्वरी, शोभा भगवती, कलङ्की...।
दोस्रो बानेश्वर, कृष्ण पाउरोटी, सानो गौचरन.....।
त्यस्तै वसुन्धरा, महाँकाल, कपन नयाँ बस्ती..... ।
अर्को............।
फेरि अर्को बल्खु, सानेपा, खोकना, हरिसिद्धि, बोडे...।"
बढी क्षतिग्रस्त क्षेत्रको वर्गीकरण भयो । उपस्थितहरू पाँचवटा समूहमा विभाजित भए ।
"फिल्डमा जानुअगि विदेशी चिकित्सकहरूले प्रेजेन्टेसन दिनुहुन्छ । त्यसका लागि तपाईंहरू हलमा पस्नुहोस् ।" नेतृत्व लिन अग्रसर एक जनाले माइक लगाएर आह्वान गरे ।
भेडाबाख्रा जस्तै बथानमा हामी हलमा प्रवेश गर्यौँ । विदेशबाट आएको साइकोलोजिकल 'फस्ट एड टिम' रे । अङ्ग्रेजी भाषामा गरिएको प्रेजेन्टेसन । बोली सुनेरभन्दा अक्षर हेरेर बुझेँ मैले ।
चार जनाले पालैपालो आआफ्ना विचार र विधि बताए ।
पहिलो व्यक्तिले आफ्नो संस्थाबारे व्याख्या गर्यो । दोस्रोले अहिलेसम्म संस्थाले गरेको कामको चर्चा गर्यो । तेस्रोले प्राकृतिक प्रकोपबारे विश्लेषण गर्यो ।
दस मिनेटको ब्रेक ।
भूकम्पमा परेका कैयौँको भग्नावशेषभित्रको चित्कार सुन्न आएको टोलीले सायद 'हाई टी' का लागि ब्रेक दिएको होला । धिक्कार तिमीहरूलाई !
भर्याङबाट झर्दै थिएँ ।
सँगैको एउटा कोठामा केही बेरअगि प्रशिक्षण दिने पहिलो विदेशी कपाल मिलाउँदै थियो । ऐना हेरेर खै केके दलिरहेको अनुहारमा ।
म त पीडैपीडामा मञ्चित चलचित्रको उत्सवमा समावेश भएजस्तो लाग्यो । बाँचेकाको राहतमा मलहमपट्टी लगाउने प्रयास थिएन । मर्दा मलामी होइन, त्यहाँ त जन्ते बाख्रोको पो जोहो गरिँदै रहेछ ।
किन मेरा सबै पूर्वअनुमान गतल भइरहेछन् आज— दस मिनेटको ब्रेक त स्वयं सेवक कार्ड वितरणको लागि पो रहेछ । चिया न सिया ।
सुपर डुपर हिट चलचित्रको टिकट लिनेको भिड लागेजस्तो गरी चप्पलको तुना छिनाएर स्वयं सेवकको कार्ड लिएँ ।
"कार्ड वितरण रोक ! अब स्वयं सेवकलाई प्रशिक्षण दिने बेला भयो ।"
झन्डै आधाले कार्ड पाएका थिएनन् । गुरुरु फेरि पसियो हलतिर ।
फेरि विदेशी प्रशिक्षकले पढाउन थाले—
"भूकम्प गएपछि पानीको पाइप फुट्छ । विद्युत् अवरुद्ध हुन्छ । टेलिफोन चल्दैन । जमिनमुनिको पानी सप्लाइको पाइप, घरमाथि रहेको टयाङ्की फुट्न सक्छ । त्यसैले भूकम्पपछि पानी वितरण सहज पार्नका लागि अकासे पानी थाप्नुपर्छ ।
जमिनमुनिको पानी सङ्कलन र शुद्धीकरण...।
त्यसका लागि आपतकालीन रणनीति तय गरिनुपर्छ ।
कम्तीमा दैनिक प्रतिव्यक्ति १५ लिटरको दरले पानी वितरण गर्नुपर्छ ।
प्राथमिकता केका लागि भनेर पनि छुट्याउनुपर्छ ।"
उसले भूकम्प जाँदा के हुन्छ भन्ने बेलीबिस्तार लगाई । विदेशी युवतीले भूकम्प गएपछि मान्छेमा के हुन्छसम्म व्याख्या गरी ।
"भूकम्प गएपछि मान्छे डराउने, डिप्रेसन, एजिटेसन, डिजिनेस.... ।
यसमा पनि चारवटा तह हुन्छन् ।" थप्तै गई... "रेस्क्यु, हनिमुन.....
टाइफाइड, झाडापखाला, कलेरा, स्वासप्रश्वाससम्बन्धी समस्या... ।
.... स्वास्थ्य परीक्षणमा पनि भिन्नाभिन्नै ग्रुप हुन्छ ।" भट्याउँदै गई ।
सैद्धान्तिक ज्ञान सिक्ने बेला थियो/थिएन । अथवा अहिलेको आवश्यकता सैद्धान्तिक ज्ञान लिनु थिएन । मैले पनि ठम्याउन सकिनँ सायद । कति कुरा सुनेर बिर्सें। कति कुरा सुन्दै सुनिनँ पनि ।
मेरो मस्तिष्कमा भवनले किचिएका, घर भत्किएर आकाशमुनि बसेका, अनि पानी नपाएर आफ्नै लुगाको पसिना चुसेका मानिसहरूको अनुहार नाचिरहेको थियो ।
मैले सोचेको विदेशी टोलीको राहत थिएन यो । उकुसमुकुस भयो ।
उसले आफ्नो काम सकी क्यारे ।
"अब प्रशिक्षण सकियो । ग्रुप लिडर अगाडि आउनुस् !"
कोही अगाडि देखिएन ।
"ग्रुप 'ए' मा बस्ने कोको हो, बाहिर जानुहोस् । ग्रुप 'बी' मा बस्नेहरू बाहिर जानुहोस् ।"
ग्रुप लिडर नआएपछि सरर्सर्ती पाँच जनाको नाम लिँदै स्वयं सेवकलाई बाहिर पठाइयो ।
"बल्खु क्षेत्र कुन ग्रुपमा पर्छ ?" हर्ताकर्ता जस्तो देखिने एउटालाई सोधेँ ।
"ग्रुप 'इ' मा ।" झर्किंदै उसले भन्यो ।
समूहमा नाम टिपाउन १० मिनेट दिइएको थियो । आधा घण्टामा बल्ल मैले आफ्नो नाम समूह 'इ' टिपाएँ ।
'ग्रुप लिडर' को नाम खरर भट्याइएको थियो— अनुहार देखाइएको होइन । आफ्नो ग्रुप लिडर ठम्याउनै मलाई हम्मे भयो । आधा घण्टामा ग्रुप विभाजन सकिएको थियो तर मलाई टिम लिटर पत्ता लगाउन दुर्इ घण्टा लाग्यो ।
"तपाईं ग्रुप इ को लिडर हो ?" अनुमानकै भरमा सोधेको, सही नै परेछ ।
"तपाईंहरू यही बस्नुहोस् ।" अर्डर गर्दै ऊ हरायो ।
झन्डै १० मिनेटसम्म पनि ऊ नआएपछि हाम्रो ग्रुपमा कानेखुसी सुरु भयो—
"किन यहाँ राखेको ?
अब के गर्ने ?
हैन गर्नचाहिँ के खोजेको ?
यिनीहरू हामीलाई पढाउन आएका कि भूकम्प पीडितलाई उद्धार गर्न ?
अङ्ग्रेजी बोलेको पनि हेर न, कस्तो बुझ्दा पनि नबुझने ! त्यस्तो पनि अङ्ग्रेजी हुन्छ ?
फोक्कटमा । बिहान आठै बजे त्रिपालमुनिको निस्तो भात खाएर आएको, कस्तो भोक लागिसकेको छ ।
अस्तिदेखि काँपेको मुटु अझै ठीक ठाउँमा आएको छैन । बिनासित्तिको यो झमेला । हामी त गयौँ !"
क्रिया प्रतिक्रियासँगै एक हुल घर फर्किसकेपछि ग्रुप लिडर टुप्लुकियो ।
"हामीले के गर्ने हो ?" एक जनाले प्वाक्क भन्यो । सबैको धैर्यता भत्किएको थियो ।
"तपाईंहरू गाउँमा जाने, 'पानी उमालेर खाने, सरसफाई गर्ने' भन्ने ।" ग्रुप लिडरले भन्यो ।
"फिल्ड गएर काम गर्ने तरीका विदेशीले सिकाउने हो कि तपाईंले दिने हो ?"
"होइन, उनीहरूले दिदैनन् । यही हो । हामीले नै भन्ने हो ।"
"दुर्इ-तीन थोपा पिउस राखेर पानी खाने, उमालेर खाने, हात मज्जाले धुने..... भन्ने हो । यति त हामीले भन्न जानेकै छौ नि ।" ग्रुप लिडरले सामान्य मुस्कुराउँदै भन्यो ।
'धन्न, तिमीले यस्तो विपत्तिमा पनि हाँस्न जानेका रहेछौ ।' उसको मानवीयतामा दया जाग्यो । प्रवृत्तिमा करुणा जाग्यो ।
"दुर्इ थोपा हाल्ने कि तीन थोपा ? एक लिटर पानीमा कति हाल्ने ? तपाईं नै कन्फ्युजनमा हुनुहुन्छ !" दिनभरिको प्रतीक्षा, कार्यशैली र सम्पुर्णताप्रतिको आक्रोश एकमुष्ट पोखियो ।
"सङ्क्रमण धेरैजसो पानीबाट सर्ने भएकाले पानी स्वच्छ हुनुपर्छ । पानी उमालेर पिउनुपर्छ भन्नुपर्छ ।" ग्रुप लिडरले फेरि अर्थ्यायो ।
"त्रिपालमुनिकाले ग्यास कहाँ पाउँछन् पानी उमाल्न ?" एउटीले प्वाक्क भनी ।
"ए, हो त, पानीमा पिउस राखेर पिउनुपर्छ भन्नुपर्यो त्यस्तो ठाउँमा ।" लिडरले आफ्नो व्याख्या सँच्यायो ।
"त्रिपालमुनि पिउसचाहिँ कसरी पुग्छ ? सफा गर्नका लागि फिनेल, साबुन हामीसँग छ ?" एकपछि अर्को प्रश्नको वर्षा भइरह्यो ।
"हामी रित्तै फिल्ड गयौँ भने त कुटेर पठाउँछन् ! विदेशीको बुझाइभन्दा भिन्न हामीसँग यी यावत ज्ञान छन्, आवश्यकताका वस्तु छैनन् ।" समूहको आक्रोश बढ्दै थियो ।
"ए, हो त । मलाई थाहा भएन । पख्नुहोस् है म सोधेर आउँछु ।" ग्रुप लिडर विदेशीलाई सोध्न गयो ।
"सबै सामान छ रे ।" टाढैबाट कराउँदै ऊ फेरि त्यो समूहबाट हरायो ।
म जस्तै त्यस समूहमा भएका सबैले सोचेको हुनुपर्छ— 'ऊ सामान लिन गयो । अब त्यो सामान लिएर हामी फिल्डमा जानुपर्छ ।'
धेरै समय कुर्नुपरेपछि बाँकी रहेका साथीहरू पनि आधा घटिसकेका थियौँ । केही साथीहरू ग्रुप लिडर खोज्न अगि बढ्यौँ ।
यसअगि बाहिरिएका हाम्रै ग्रुपका साथीहरू लिएर ग्रुप लिडर अगि बढिरहेको रहेछ । पछि लागियो ।
"ल तपाईंहरू यहीँ बसिराख्नुस् । म रिसोर्स पर्सन खोजेर ल्याउँछु ।" तेस्रो पटक हरायो ग्रुप लिडर ।
झल्याकझुलुक देखिन्थ्यो भिडभाडमा उसलाई तर अगाडि आएन ।
'स्वास्थय सम्बन्धी जनचेतनाको काम गर्नका लागि आएको विदेशी टोली रे ।' त्यहाँ पुगेर थोरै बुझेको मैले ।
तर त्यस टोलीका लागि सहयोग गर्न बोलाइएका थिए एउटा कलेजका एघार र बाह्र कक्षामा अध्ययनरत विद्यार्थी । म त हाँडीको मकै उछिटिएजस्तै कताबाट उछिटिएर पुगेकी रहेछु । स्वास्थ्य सम्बन्धी टोलीलाई सघाउनका लागि त कम्तीमा स्वास्थ्य क्षेत्रमा काम गरेका युवा समूह हुनुपर्थ्यो । ती आलाकाँचा विद्यार्थी पनि नेपालमा संयोजनकारी भूमिका खेलेको व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गरेर बोलाइएको रहेछ । 'टिन एज' का झन्डै आधाजति त ग्रुप विभाजनकै क्रममा फर्किसकेका थिए । थियौँ त म जस्ता केही कपाल फुलेका व्यक्तिहरू ।
स्काउटको ड्रेस लगाएको एउटाले झुन्ड बनाएर केके फलाकिरहेको थियो । तर हामी भने ग्रुप लिडरका अनुसार रिसोर्स पर्सन कुरिरहेका थियौँ ।
"हाम्रो भागमा परेका पाँच स्थानमा को को कसरी जाने खै योजना ?" हामीमध्येकै एक जनाले सोध्यो । सायद अब धैर्यको बाँध भत्किसकेको थियो ।
"पर्खनु, म सोधेर आउँछु ।"
"पर्दैन सोध्न । किन सोध्न जाने ? यो त हाम्रो काम हो, किन उनीहरूलाई सोध्ने । उनीहरू रिसोर्स पर्सन । जाने त हामी हो नि । प्लानिङ गरौँ न हामी आफै ।" ग्रुप लिडर फेरि विदेशीको पोल्टामा जान खोज्दै थियो, समूहका व्यक्तिले रोके ।
ग्रुपमा कति जना र पाच क्षेत्रमा कोको कसरी जाने भन्ने अहिलेसम्म अन्योल थियो ।
समूहकै व्यक्तिको सक्रियतामा पाँच स्थानका लागि पाँचवटा उपसमूह बनाई त्यसको संयोजक तोकिसकेपछि ग्रुप लिडर ले भन्यो—
"पहिला ग्रुप लिडर र विदेशी टोली मात्रै गएर त्यस स्थानको अवलोकन गर्ने कुरा भयो । तपाईंहरू भोलि मात्रै जाने रे । कुन स्थानमा केको आवश्यकता छ भनेर अध्ययन गरेपछि मात्रै तपाईंहरू त्यहाँ जानुहुन्छ । अहिलेलाई उपसमूहका संयोजकले आआफ्नो सम्पर्क नम्बर दिएर जानुस् ।" ग्रुप लिडर विदेशीको झुन्डतिर गयो ।
दौडधुप, हताश र हतारमा देखिएको ग्रुप लिडरमा न त जिम्मेवारी बोध देखियो, न त मानवीय भावना । भविष्यमा कुन बहानामा हरियो डलरमा सुत्न पाइन्छ ? पीडितको उद्धारका लागि चासो होइन । सुर्ता नै उसको सुन्दर भविष्यको थियो ।
बिनाकुनै उपलब्धि पूरा दिन बिताएका हाम्रा टोलीका पाकाहरू आफै विदेशीलाई भेट्न गए ।
"योजना के हो ? हामीलाई किन बोलाएको ?" विपत्को पीडा र सम्भावित सङ्क्रमणको जोखिम सबै आँखाका डिलमा आँसु बनी झर्न तयार थिए । भग्नावशेषमा थिचिएर जीवन गुमाएका, आफन्त गुमाएका र उद्धारको पर्खाइमा रहेकालाई मैले जसरी सबैले सम्झेको हुनुपर्छ । बाँकी रहेका हामी झन्डै १५ जनाका आँखा उस्तै थिए । विदेशीको सहयोगमा र्याल चुहाएर हामीलाई बलिको बोको बनाएका लिडर भनाउँदाहरूको मुन्टो फर्सीको मुन्टा चिमोटेजसरी बटारिदिन मन लाग्यो ।
"टेन्ट राखेर बसेको स्थानमा गएर हामी हेर्छौं । पानी उमालेर खाए/नखाएको, पिउस प्रयोग गरे/नगरेको, दिसापिसाबलगायतको अवलोकन गर्छौं । हामी पानी परीक्षण गर्न नमुना सङ्कलन गरेर आउँछौँ । पानी दुषित रहेछ, रोगी रहेछन् भने उपचारका लागि हामी तपाईंहरूको सहयोगमा त्यस स्थानमा फेरि जानेछौ ।" निकै समय लगाएर विदेशीले दिएको उत्तरलाई दोभासेले भन्यो ।
"आज नमुना सङ्कलन गरेको पानी भोलि नै दुषित हुन सक्छ । त्यसैले नमुना सङ्कलन होइन, पिउस, फिनेल, साबुनलगायत सामान लिएर ती स्थानमा जाने कामलाई प्राथमिकतामा राखिनुपर्छ ।" हाम्रो समूहका एक जनाले भने । मलाई त तिनै भग्नावशेषका ढुङ्गैढुङ्गाले थिच्न मन लागेको थियो ।
अगाडि चार जर्किन फिनेल राखेर बसेका विदेशीले अनकनाउँदै दिएको उत्तरपछि फेरि अर्कोले थप्यो— "हामी खाली हात त्यस स्थानमा जान सक्तैनौँ । प्रारम्भिक सरसफाइका सामान छैनन् भने हामी आफै रकम सङ्कल गरेर किनेर लैजान्छौँ, दुर्दशा हेर्न सक्तैनौ । दुःखमा ताली पिट्न होइन, राहत र बाँकी जीवन जिउनका लागि शाहस दिन चाहन्छौँ ।"
वादविवाद बढ्दै गयो । दोभासेले पनि भनाइ अनुसारकै हाउभाउमा सम्झाउँदै गयो ।
त्यसपछि उसले छुरीको धार जस्तै आइरन लगाई चिटिक्क परेर सुटबुटमा ढाडिएका व्यक्तिलाई देखाउँदै भन्यो— "हाम्रा सामानहरू सरकारले लिइसकेको छ । उनीहरूले जसरी, जुन स्थानमा जाऊ भन्छन्, हामी त्यसै गरी जाने हो । उनीहरूलाई भन्नु ।"
स्वास्थ्य मन्त्रालयबाट आएका रे । सुकिला लुगा लगाएका पाँच जना थिए । बिहानैदेखि उनीहरू निकै हतारमा देखिन्थे । कसैसँग पनि पूरा कुरा गर्ने समय नै थिएन । अप्रेसन थिएटरको चिकित्सक र सुत्केरी गराउने सुँढेनी जस्तै । तर न त एउटा बिरामीको अप्रेसन भयो न सुत्केरी नै गराइयो ।
उनीहरूसँग कुरा गर्न हाम्रो समूह त्यसतर्फ बढ्दै गर्दा हतारमा चिल्लो गाडी चढे ।
हेर्याहेर्यै । अरू जस्तै घर फर्किएँ म ।
महाविपत्तिको पीडाले भन्दा त्यसैलाई कमाइ खाने भाडा बनाउने प्रवृत्तिले मुटुसम्म पुगेर दुखायो ।
सपना भत्किएर पीडा चर्किएको बेला आएको विदेशीको राहत ! भक्कानो छुट्यो । १२ गते मध्याह्नदेखि नफर्किएको घरभित्र पसेँ ।
सिन्धुपाल्चोकको मान्छेबिनाको स्मसान बनेको भग्नावशेषको गाउँ, मेलम्ची, गोर्खाको बार्पाक, भक्तपुर, मङ्गलबजार, धरहरा अनि चर्किएको आफ्नो घरको भित्ता हेरेर धेरै बेर रोएँ ।
भूकम्पमा परी भग्नावशेषमा परेकाको उद्धार, पीडितले पाउने राहत अनि पुनर्वासको सबै सपना धरहरा ढलेजसरी ढलेको अनुभव भयो ।
दिनभर सूचनाबाट बेखबर थिएँ । रेडियो खोलेँ— भूकम्पमा परेकाको उद्धारका लागि विदेशी राहत आउने क्रम जारी । विदेशी प्राविधिक टोलीद्वारा क्षतिग्रस्त स्थानबाट पुरिएकाको उद्धार गर्ने कार्य जारी ।
रेडियो बन्द गरेँ ।
सोचेँ । यही हो विदेशी सहयोग र राहत !सेतोपाटीबाट साभार







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news