पशुपति क्षेत्रका ९० प्रतिशत पुरातात्विक सम्पदामा क्षति
जेठ १७ काठमाडौं
भूकम्पका कारण पशुपतिनाथ मन्दीरको मूल मन्दिरमा कुनै क्षति नभए पनि अन्य संरचनामा भने ठूलो क्षति पुगेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा भूकम्पले भत्किएका संरचना निर्माणका लागि दाताहरुले प्रस्ताव गरेका छन् ।
भूकम्पले पशुपति क्षेत्रका ९० प्रतिशत पुरातात्विक सम्पदामा क्षति पुगेकोमा ७० प्रतिशत सम्पदाको जगैदेखि निर्माण गर्नुपर्ने र २० प्रतिशत सम्पदा मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने प्राविधिक अध्ययनबाट देखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।
लिच्छविकालीन, मल्लकालीन, मध्यकालीन र उत्तर शाहकालीन समयमा बनेका सम्पदा प्रायः क्षतिग्रस्त बनेका छन् । करिब एक अर्ब ५६ करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
जंगबहादुर राणाले विसं १९२१ मा निर्माण गरेको विश्वरुप मन्दिर, जंगबहादुरका छोराले विसं १९३६ मा निर्माण गरेको जीतजङ्ग प्रकाशेश्वर मन्दिर, १७ औँ शताब्दीमा राजा प्रताप मल्लका छोरा नृपेन्द्र मल्लले निर्माण गरेको जयवागेश्वरी मन्दिर, पञ्चदेवल, गोरखनाथ सत्तल, गुह्येश्वरी सत्तल, महास्नान घर, बज्र घर, शङ्खनारायण मन्दिरलगायत धर्मशाला र पाटीपौवामा क्षति पुगेको छ । पशुपति क्षेत्रको पुनःनिर्माणका लागि भक्तजनबाट प्रस्ताव आउन सुरु भएको कोषले जानकारी दिएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news