अर्धदासताको जीवन भोगेका मुक्त हलियाले अहिलेसम्म पनि परिचय पत्र पाएनन्

बाजुराको बडीमालिका नगरपालिका –२ नुवाकोटकारा रुद्र चदाराका बुढाबुढी । रुद्र चदारा अझै हलो जोत्छन ।
- प्रकाश शाह
बाजुरा । सरकारले हलिया प्रथा निषेध गरेको सात वर्ष भइसक्यो, तर सुदूरपश्चिमको बाजुरा जिल्लामा अझैं पनि हलिया प्रथाका अवशेषहरू बाँकी नै छन् ।
सुदूर तथा मध्यपश्चिम क्षेत्रमा ऋण वा घरवासका लागि जग्गा दिए वाफत हलिया, खलिया, डोलिया लगायतका काम गर्ने कुप्रथा रहेका छन् । यस्ता काममा प्रायः दलित समुदाय संलग्न हुने गरेका छन् । आर्थिक रूपमा विपन्न तथा सामाजिक छुवाछुत र विभेदका कारण दलित समुदायले शदियौंदेखि अर्धदाशताको जीवन भोग्न बाध्य हुँदै आउनु परेको छ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा सरकारले २०६५ साल भदौ २१ गते हलिया प्रथा उन्मुलन घोषणा गरेको थियो । यससँगै हलियाको ऋण मिनाहा भएको थियो । तर, हलिया पुनस्र्थापना कार्य प्रभावकारी हुननसक्दा अझैं पनि कतिपय परिवार तथा व्यक्ति हलिया बस्न बाध्य भएका छन् ।
सरकारले हलिया प्रथा निषेध गरेर उनीहरूलाई क, ख, ग र घ गरी चार किसिमका परिचयपत्र वितरण गरेको छ । त्यसअनुसार सरकारले परिचयपत्र लिएका मुक्त हलियालाई घर बनाउन तीन लाख, जग्गा खरिद गर्न एक लाख पचास हजार र घर मर्मत गर्न एक लाख रुपैयाँ प्रदान गर्ने गरेको छ । तर, बाजुरा नुवाकोट गाउँका मुक्त हलियाले अझैं पनि परिचयपत्र नपाएको बताए ।
Halya-bajura (6)
बाजुराको बडीमालिका नगरपालिका –२ नुवाकोटस्थित दलितबस्ती ।
 ‘हामीलाई कसैले परिचयपत्रबारे जानकारी दिएनन्, त्यसैले लिन छुट्यौं’ नुवाकोटका नरबहादुर विकले भन्नुभयो– साविकको जुगाडा गाविसमा हलियाको तथ्यांक लिन आएको टोलीलाई ‘यहाँ कोही पनि हलिया छैनन्’ भनेर फर्काइएको रहेछ । हालको बडीमालिका नगरपालिका –२ नुवाकोट गाउँमा ५५ परिवार मुक्त हलियाले परिचयपत्र पाएका छैनन् । हलिया मुक्तिपछि हामी घरका न घाटका भएका छौ विकको भनाइ छ ।
घर न घाटको भएपछि हुनपनि नुवाकोटगाउँमा थन्केर वस्नु पर्ने ७० वर्षका वृद्ध र खेल्दै रमाउँदै पढिरहनुपर्ने १८ वर्षका युवाहरु अर्काको खेतवारीमा हलो जोत्दै छन् । बडीमालिका नगरपालिका–२ नुवाकोटका रुद्र चदारा ७० वर्ष कटिसक्नुभयो, तर दश वर्षको उमेरदेखि अरुका लागि बोक्न थालेको हलो अझै छुटेको छैन । उहाँ भन्नुहुन्छ–‘बाध्यताले हलो जोत्छौ मुक्त भएपछि ज्याला झन घटेको छ पहिले एक छाक खाना एक/एक माना चामल र पिठो पाउथ्यौ अहिले खाना पाउन छोडेका छौ । जोताउनेहरुले मुद्धा नहाल्नु जोत्नु तिम्रो वाध्यता हो भन्छन उहाँले दुःखेसो गर्नुभयो त्यसले पनि तीन छाक चल्छ भनेर काम गर्छु ।’
Halya-bajura (1)
नुवाकोेटकै सगुने ओखेडा (४५) ले पनि हलो बोक्न लागेको २७ वर्ष भयो । बाजुराको नुवाकोटमा मात्रै ३०–४० जनाले अहिले पनि हलियाका रूपमा काम गर्दै आएका छन । हलियाका रूपमा बृद्ध रुद्र अथवा पौढ सगुने मात्र होइनन् युवा गोपाल उखेडा (१८) पनि काम गरिरहनु भएको छ । गोपालले १४ वर्षको उमेरदेखि नै अरुको खेतमा हलो जोत्दै आउनु भएको छ । गोपालको कथा झन दर्दनाक छ उहाँले भन्नुभयो म १४ वर्षको हुँदा वुवा वित्नुभयो त्यसपछि समातेको हलो कहिल्यै छुट्ला जस्तो लाग्दैन अरु सीप पनि केही छैन सँधै अर्काको हलो सस्तो ज्यालामा जोतिरहनु पर्ने भएको छ । बाजुरा, नुवाकोटका अधिकांस दलित समुदाय अहिले पनि हलियाका रूपमा काम गर्छन् ।
Halya-bajura (3)
नेपाल पत्रकार महासंघ बाजुराका सचिव कृष्ण ओलीका अनुसार ‘अहिले पनि बाँधु लगायतका गाविसका केही पूर्णरुपमा हलिया प्रथा कायम छ’ । त्यतिबेलाका २७ मध्ये जिल्लाका १५ गाविसमा अध्ययन नै नभएको तर्क सचिव ओलीको छ । प्रमुख जिल्ला अधिकारीले राम्रो काम गर्नु भएको छ तर हलियाका पहिचानमा सक्दो प्रयास भएको छैन ओलीको जिकिर छ अब फेरि हलिया तथ्यांक लिनुपर्छ । गाविस सचिव र राजनीतिक संयन्त्रमा गैरदलित हुनाले धेरै गाविसले हलिया छैनन भन्ने जिल्ला स्थित मुक्त हलिया पुनस्र्थापना समितिमा पठाएको तर्क हलियाका अगुवाहरुको छ ।
केयर नेपालको सहयोगमा सञ्चालित हलिया मुक्ति परियोजनाका वकालत संयोजक बालाराम भट्टराई हलिया प्रथा निषेध भइसकेपछि पनि कसैले हलिया राखेमा कमैया श्रम निषेध गर्न बनेको ऐन आकर्षित भएर कार्वाही हुने बताउनुहुन्छ । सो ऐन अनुसार हलिया राख्नेलाई २५ हजार रुपैया दण्डसजाय हुने प्रावधान छ । सरकारले मुक्ति गरेपनि पुनस्र्थापनामा खासै सम्वेदनशिल नभएको भट्टराई बताउनुहुन्छ ।
Halya-bajura (4)
वकालत संयोजक भट्टराई परिचयपत्र नपाएकाहरूको समस्या त छँदैछ, पाएकाहरूलाई पनि पुनस्र्थापनाका लागि दिइएको रकम अपुग हुने गरेको बताउनुहुन्छ । ‘कैलाली,कञ्चनपुर र हुम्लाका हलियाका लागि जग्गा खरिद, घर निर्माण र घर मर्मतको रकम एउटै छ’ उहाँ तराई भन्नुहुन्छ तराई भन्दा पहाडी जिल्लामा घर निर्माण महंगो हुन्छ भने पहाडभन्दा तराईमा जग्गा महंगो हुने अवस्थामा समान रकमले पुनस्र्थापना सम्भव हुँदैन ।
Halya-bajura (5)
बाजुराका प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलका अनुसार बाजुरामा नौ सय २२ मुक्त हलियालाई परिचयपत्र वितरण गरिएको छ । प्रजिअ पौडेलले शिविर सञ्चालन गरेर समेत परिचयपत्र वितरण गरिएकोले कसैले पनि ‘हामीले थाहा पाएनौ, छुट्यौ’ भन्नु गलत हुने बताउनुभयो । दलित अधिकारवादीहरू भने बाजुरामा अझै दुई हजार बढीले मुक्त हलिया परिचयपत्र नपाएको दाबी गर्छन् । सुदूरपश्चिमका अरु पहाडी जिल्लामा पनि मुक्त हलियाले परिचय पत्र नपाएको अधिकारकर्मीहरूको भनाई छ । अछामको मंगलसेन नगरपालिकाको कुस्कारियामा २५ परिवारले परिचयपत्र पाएका छैनन् । कुस्कारियाकी जलु परियार भन्नुहुन्छ ‘हाम्रा पुर्खाले अरुको हलो जोते, हामीले पनि जोत्यौ, अब मुक्ति भयो भन्ने सुन्यौ, तर हामीले अझैं परिचयपत्र समेत पाएका छैनौ । राहत क्षतिपूर्ति त झन् कहिले पो पाइने हो ।’
हलियाको तथ्यांक सदरमुकामका होटलमा बसेर लिइएकोले धेरै मुक्त हलियाको लगत छुटेको हो । अहिले पनि धेरैको हातमा ऋणको तमसुक भएका कारण हलिया बस्नु परेको पत्रकार शिवराज खत्रीको तर्क छ ।
Halya-bajura (7)
सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पनि धेरै मुक्त हलिया सुचिकृत हुन सकेका छैनन् । डडेल्धुरामा अमरगढी नगरपालिका– १० वुढालीका हरुवा सार्की ७० वर्षको पुग्नुभयो उहाँको घरवास पनि छैन त्यो गाउँमा उहाँले मात्र होइन २८ परिवारले अझै परिचयपत्र पाएका छैनन् । डडेलधुराका निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले सुचीकृत हुन छुटेका मुक्त हलियालाई परिचयपत्र दिलाउन बास्तविक नाम पत्ता लगाएर केन्द्रमा पत्राचार गर्ने बताउनुभयो ।
०६६ सालमा भएको अध्ययन अनुसार सुदूरपश्चिमका नौ र मध्यपश्चिमका तीन समेत १२ जिल्लामा १९ हजार ५९ हलिया रहे पनि अहिलेसम्म १२ हजारको मात्र प्रमाणिकरण भएको छ । ७ हजार ६६५ ले परिचय पत्र पाएका छन भने ५७१ परिवारलाई पुनस्र्थापना प्याकेजमा समेटिएको छ । दैनिक नेपालबाट साभार गरिएको हो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news